Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Apr 30, 2013
मे दिवसका दिन सभापति कोइरालाद्वारा शकामना व्यक्त

वैशाख १७, २०७०

शुभ–कामना
मे १ तारिख – मजदुर वर्गले लामो संघर्षपछि आफ्नो अधिकार प्राप्त गरेको एक ऐतिहासिक दिन हो । काम गर्ने समयको अवधि र पारिश्रमिक निर्धारण, उपचार र वसोवासको उचित व्यवस्था आदि मजदुर वर्गको हितका मागहरु राखेर सन् १८८६ मा अमेरिकाको सिकागोवाट मजदुरहरुले आन्दोलन प्रारम्भ गरे । त्यसमा अनेकौं मजदुरहरुलाई अत्यन्त वर्वर तवरले हत्या गरियो । तर आन्दोलन रोकिएन । लामो संघर्षपछि मे १ का दिन मजदुरहरुले आफ्नो अधिकार प्राप्त गरे । त्यही ऐतिहासिक दिनको स्मरणमा, हरेक वर्ष मे १ लाई संसारभरिका मजदुरहरुले मजदुर दिवसको रुपमा मनाउँदै आएका छन् ।
सम्वत् २००३ को फाल्गुण २१ देखि नेपाली काँग्रेसका सभापति एवं लोकतान्त्रिक नेपालका महानायक स्व. गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा मजदुरहरुले आफ्ना जायज मागहरु राखेर विराटनगरमा आन्दोलन प्रारम्भ गरे । नेपालमा भएको यो पहिलो ऐतिहासिक आन्दोलन थियो । सरकारले त्यो लामो आन्दोलनलाई निर्ममतापूर्वक दवाउने नीति अख्तियार गरेर— जननायक बी.पी. कोइराला, तारिणीप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला, गेहेन्द्रहरि शर्मा, युवराज अधिकारी र मनमोहन अधिकारी, दिव्या कोइराला, नलिनी उपाध्याय, इन्दिरा आचार्य र कामिनी गिरी समेत अनेकौंलाई पक्राउ ग¥यो । क्रूर तवरले गोली हानेर मजदूर नेता तुलारामको हत्या गरियो ।
नेपालमा प्रजातन्त्रको स्थापना अथवा २००७ को ऐतिहासिक जनक्रान्तिको प्रस्थान विन्दु यही मजदुर आन्दोलन थियो । त्यसैले नेपाली काँग्रेस र मजदूरहरु सधैं एक अर्कामा आवद्ध भएर एक अर्काका अनन्य सहयोगी भएर रहिआएको कुरा सर्वविदितै छ ।
२०१६ मा नेपाली काँग्रेसको जन–निर्वाचित सरकारले नै कारखाना र मजदूर सम्बन्धी कानूनको तर्जुमा गरेर, मजदूरहरुलाई कानूनसम्मत् अधिकार प्रदान गरेको हो । आज पनि नेपालका मजदूर दाजुभाइ तथा दिदी बहिनीहरुले अनेक समस्याहरुलाई बेहोरिरहन परेको छ । कसरी मजदूरको समस्यालाई समाधान गरेर मजदूर वर्गको हक र हितको सम्वद्र्धन गर्न सकिन्छ, त्यसप्रति नेपाली काँग्रेस सदैव सचेत भएर लागिरहनेछ ।
एक युगान्तकारी परिवर्तनसँगै हाम्रो देशमा लोकतान्त्रिक गणतन्त्रात्मक पद्धति स्थापना भएको छ । साझा पहिचान र सामथ्र्यका आधारमा संघीयता सहितको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान निर्माण गर्ने गुरुत्तर जिम्मेवारीलाई पूरा गरेर मुलुकलाई अग्रगामी दिशातिर उन्मुख गराउन सबै राजनीतिक दलहरु संवेदनशील हुन तथा  आपसी एकता, मेलमिलाप एवं पारस्परिक सद्भाव, सहयोग र सहकार्यलाई अघि बढाएर यस जिम्मेवारीलाई पूरा गर्न मे दिवसका अवसरमा म आग्रह गर्दछु ।
मे दिवसका अवसरमा म सम्पूर्ण मजदूर दाजु–भाइ तथा दिदी–बहिनीहरुमा हार्दिक
शुभ–कामना व्यक्त गर्दछु ।
जय नेपाल !

 सुशील कोइराला
 सभापति
नोट ः २०७० वैशाख १८ गते मे दिवसका दिन प्रकाशन तथा प्रसारणका लागि ।
 

Share on Facebook

Attachments#
No files