Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jun 19, 2012
२०६९ असार ५ गतेको केन्द्रीय कार्यसमितिको निर्णय


असार ५, २०६९
प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक सभापति सुशील कोइरालाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी.नगर, ललितपुरमा बस्यो । आजको बैठकमा— नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु— गोपालमान श्रेष्ठ, डा. रामशरण महत, अर्जुननरसिंह के.सी., बलबहादुर के.सी., महेश आचार्य, नरेन्द्रविक्रम नेम्वाङ, नरहरि आचार्य, डा. मिनेन्द्र रिजाल, मानबहादुर विश्वकर्मा, एन.पी. साउँद, भीष्मराज आङ्देम्वे, कृष्णचन्द्र नेपाली, चन्द्र भण्डारी, धनराज गुरुङ, महेन्द्र यादव र गगनकुमार थापाले आ–आफ्नो धारणा राख्नु भएको थियो ।

बैठकको निर्णय देहाय बमोजिम छ—
(१) सत्ता कब्जा गर्ने एनेकपा (माओवादी) नेतृत्वको सरकारको सुनियोजित षडयन्त्रबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण नहुँदै संविधान सभा विघटन भए पश्चात मुलुकमा गम्भीर राजनीतिक एवं संवैधानिक संकट खडा भएको छ । संविधानसभा, व्यवस्थापिका संसद, राजनीतिक दलहरु बीचको सहमति सबैलाई छलेर अत्यन्त कपटपूर्ण ढंगले सत्ता लम्ब्याउन सरकारले गरेको निर्वाचनको घोषणा समग्र रुपले असंवैधानिक र निरंकुश छ । यो अवस्थामा सरकारले घोषणा गरेको निर्वाचन कुनै पनि हालतमा सम्भव छैन । सरकारको यो सर्वसत्तावादी कदमका विरुद्ध नेपाली कांग्रेस लगायत २४ राजनीतिक दलहरुले प्रारम्भ गरेको संघर्ष र विरोधका देशव्यापी कार्यक्रमलाई अझ प्रभावकारी रुपमा अगाडि बढाउने निर्णय गर्दछ ।

(२) मुलुकमा देखिएको संवैधानिक र राजनीतिक संकट दिनप्रतिदिन गहिरिदै गएको आजको परिस्थितिमा संकटबाट सुरक्षित अवतरण गराउँदै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने नेपाली जनताको चाहनालाई साकार पार्न सबै राजनीतिक दलहरुको बीचमा राष्ट्रिय सहमति अनिवार्य देखिएको छ । यसका लागि सबै राजनीतिक दलहरुसँग वार्ता र संवादलाई अगाडि बढाउन नेपाली कांग्रेस अग्रसरता लिने निर्णय गर्दछ ।

(३) २०६९ असार ३ र ४ गते सरकारको निरंकुश, असंवैधानिक र प्रतिगामी कदमका विरुद्धमा शान्तिपूर्ण ढंगले विरोध प्रदर्शनमा निस्केका विद्यार्थी तरुणहरुमाथि सरकारले अनावश्यक बल प्रयोग गरी सयौँ विद्यार्थीहरुलाई सख्त घाइते बनाएको घटनाप्रति नेपाली कांग्रेस तीव्र निन्दा एवं भत्र्सना गर्दछ ।

(४) आफैले निर्वाचन घोषणा गरे पश्चात निर्वाचन आयोगबाट जारी भएको आचार संहिता र प्रचलित कानूनको समेत बर्खिलाप गरी काम चलाउ सरकारले कर्मचारी, प्रहरीहरुको सरुवा बढुवा तथा नेपाल टेलिभिजनका महाप्रबन्धकलाई बर्खास्त समेत गरेको छ । सरकारका यी निरंकुश कार्यहरुप्रति नेपाली कांग्रेस तीव्र आपत्ति एवं विरोध प्रकट गर्दछ र यस्ता कार्यहरुलाई रद्द गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गर्दछ ।

(५) मट्टितेल, डिजेल लगायत पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा घटेको वर्तमान अवस्थामा पनि सरकारले मूल्य वृद्धि गरेर सर्वसाधारण जनतामा ठूलो आर्थिक भार बढाएको
छ । सर्वसाधारण जनताको जीवन स्तर दिन प्रतिदिन कष्टप्रद बनाउँदै लैजाने सरकारको मूल्य वृद्धिको यो निर्णय फिर्ता गर्न नेपाली कांग्रेस ध्यानाकर्षण गर्दछ ।

(६) किसानहरुको मुख्य खेती गर्ने समय शुरु भएको छ । किसान परिवारको जीवन यापनमा चाहिने दैनिक उपभोग्य वस्तुहरुको मूल्य दिन प्रतिदिन बढ्दै गएर महंगीको अत्यन्त ठूलो भार किसानमा परिरहेको छ भने अर्कोतिर खेतीलाई चाहिने मलखाद बजारमा उपलब्ध छैन । किसानलाई सरल सुलभ तरिकाले मलखाद उपलब्ध गराउन सरकारले कुनै पहल गरेको छैन । मलखाद उपलब्ध नहुँदा यो वर्ष किसान माथि अत्यन्त ठूलो मर्का पर्ने सम्भावना देखिएको हुँदा तुरुन्तै यसतर्फ ठोस पहल गरी खेतीलाई चाहिने मलखाद, उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गर्दछ । 

(७) गोरखा जिल्लामा नेपाल विद्यार्थी संघका कार्यकर्ता सितलमान गुभाजु लगायतका विद्यार्र्थीहरु एवं नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई झुठ्ठा मुद्दामा फसाउने सरकारको वदनियतपूर्ण कार्यको नेपाली कांग्रेस घोर निन्दा एवं भत्र्सना गर्दछ । साथै, उनीहरुमाथि लगाइएको झुठ्ठा मुद्दा फिर्ता गरी थुनामा रहेका व्यक्तिलाई तत्काल रिहाई गर्न माग गर्दछ ।

(८) प्रवेशिका परिक्षाको भर्खरै प्रकाशित नजितामा पचास प्रतिशत भन्दा बढी विद्यार्थी अनुतिर्ण भएका
छन् । यो नतिजाले सामुदायिक विद्यालय शिक्षाको गुणस्तरसँगै समग्र विद्यालय शिक्षा प्रणाली माथि नै गम्भीर प्रश्न खडा भएको छ । यो असफलता विद्यार्थीहरुको मात्र हैन, शिक्षक, अभिभावक, सरकार र हामी सबै सरोकारवालाहरुको असफलता हो । सामुदायिक विद्यालय शिक्षामा आमूल परिवर्तन नगर्ने हो भने यस्तो परिणाम प्रत्येक वर्ष व्यहोर्न पर्ने हुन्छ । प्रवेशिका परिक्षाको यस्तो निराशाजनक परिणामलाई केही दिनको वौद्धिक विमर्शको विषय मात्र नबनाइकन, सबै सरोकारवालाहरुका माझमा व्यापक बहस चलाउँदै नेपालको विद्यालय शिक्षामा रहेका आधारभूत समस्या र कमजोरीहरु हटाउन सर्वस्वीकृत अवधारणा तयार गरी अगाडि बढ्ने आवश्यकताप्रति नेपाली कांग्रेस सबैको ध्यानाकृष्ट गर्दै यो अभियानमा हाम्रो सम्पूर्ण सहभागिता रहने प्रतिवद्धता व्यक्त गर्दछ ।

केन्द्रीय कार्यसमितिको बैठक २०६९ असार ६ गते दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।

 

  वसन्तकुमार गौतम
  मुख्य सचिव

 

Share on Facebook

Attachments#
2069.03.05.doc (31 KB)  वर्ड फरम्याटका लागि डाउनलोड गर्नुहोस्  Download