Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jun 07, 2012
२२ राजनीतिक दलको संयुक्त पत्रकार सम्मेलन

प्रेस विज्ञप्ति

१.  संविधानसभाको घोषित कार्यकाल जेठ १४ मा सकिन नपाउँदै माओवादी नेतृत्वको सरकारले संविधानसभाको अर्को निर्वाचनको नाटकद्वारा सत्ताकब्जा र आफ्नै पार्टीको सर्वसत्तावाद लाद्ने नियत प्रष्ट भएको छ । सत्ताकब्जाका लागि एकपछि अर्को ब्युहरचना गर्दै आएको माओवादीको पछिल्लो शिकार संविधानसभा हुनपुगेको छ । सरोकारवाला सभासद, संसदमा रहेका दलहरू, सभामुख र आफ्नै पार्टीभित्र समेत थाहा नदिई लिइएको यो कदम घोर असंवैधानिक र अप्रजातान्त्रिक हो भन्ने छर्लङ्ग भइसकेको छ । कथित निर्वाचनको आवरणमा चालिएको यो कदमबाट शान्ति, लोकतन्त्र, गणतन्त्र, संघीयता र संविधान लेखनको कार्य एकसाथ गम्भीर खतरामा परेका छन् । वर्तमान स्थितिमा समस्त संघीय लोकतान्त्रिक गणतन्त्रवादी र शान्तिकामी तथा संविधानका पक्षधर समस्त नेपाली नागरिकहरू माओवादीको सम्पूर्ण सत्ताकब्जाको नियोजित दुष्प्रयास एकदलीय अधिनायकवादी तथा सर्वसत्तावादी दुस्साहसका बिरूद्ध ऐक्यबद्ध रूपमा षड्यन्त्रलाई विफल बनाउन जुट्नु ऐतिहासिक दायित्व भएको छ ।

२.  अन्तरिम संविधानले अर्को संविधानसभाको निर्वाचनमा जाने परिकल्पना नै गरेको छैन । यो कार्य प्रधानमन्त्री वा सत्तारूढ पार्टी माओवादी वा सरकारको अधिकारक्षेत्रभित्रको कुरा नै होइन । सर्वोच्च अदालतको फैसलाले देखाएका ३ विकल्प मध्ये उत्तम विकल्प रोज्ने अधिकार संविधानसभा जीवित हुँदा उसैले निर्णय गर्ने क्षेत्राधिकारको विषय हो । तसर्थ वर्तमान सरकारले अन्तरिम संविधान र संविधानसभाको अनतिक्रम्य अधिकार हनन गरेर आपैmँले अर्को संविधानसभाको निर्वाचन घोषणा गरेको छ, जुन गम्भीर असंवैधानिक मात्र होइन अलोकतान्त्रिक, अराजकतापूर्ण तथा आपत्तीजनक कार्य हो । संविधानसभाले संविधान लेखनसम्बन्धी ९५ प्रतिशत काम सम्पन्न गरिसक्यो भन्ने आधिकारिक भनाइ सार्वजनिक भइरहेको स्थितिमा बाँकी रहेको पाँच प्रतिशत काम रूपान्तरित संसदले गर्नसक्ने स्थिति स्पष्टै थियो । यसो हुँदा हुँदै पनि ४ वर्षको कार्यकालका लागि नयाँ निर्वाचन गर्ने धृष्टता, माओवादीको मुलुकलाई लुट्ने र फेरि पनि दशौँ अर्बको ब्ययभार बोकाउने बदनियत छर्लङ्ग भएको छ । अर्कातिर बडादशैँजस्तो महानपर्वको वातावरणका साथै तराईमा महान छठ पर्वको तीन दिनपछि र देशभरि मनाइने तिहारको सातदिन पनि नबित्दै निर्वाचन गराउने घोषणा चुनाब गराउनका लागि होइन, त्यसको आवरण र बहानामा सत्ताकब्जा नै हो भन्ने पुष्टि हुन्छ ।

३.  अन्तरिम संविधानमा संशोधन गरिएन भने मुलुकका बिसौँलाख युवा मतदाता मतदानबाट बञ्चित हुने, संविधानसभाको अर्को निर्वाचन गर्ने संवैधानिक प्रावधान नभएको जस्ता अनेकौँ अड्चन, चुनौती र जटिलता विद्यमान रहेको वर्तमान अवस्थामा निर्वाचन आयोगले पनि औपचारिक जानकारी गराउँदा गराउँदै पनि राजनीतिक दलहरूसँग कुनै सर–सल्लाह तथा सहमति नगरी घोषणा गरिएको संविधानसभाको निर्वाचन, चुनाब गराउनका लागि नभएर सत्ताकब्जाको पहिलो चरणको कार्य हो र कहिले नगर्ने वहानामा सत्ताकब्जाकै षड्यन्त्र हो भन्ने हाम्रो ठहर छ ।

 ४.  माओवादीका उपरोक्त कुटिल षड्यन्त्रको पर्दाफास गर्न र मुलुकलाई सर्वसत्तावाद र निरङ्कुतामा फस्नबाट जोगाउँदै, जातीय सद्भाव र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न प्रतिवद्ध राष्ट्रका सबै पक्षलाई हार्दिक आह्वान गर्दछ । नेपाली काँग्रेस, नेकपा (एमाले) लगायतका २२ राजनीतिक दलहरू नेपाली जनताका वीच जाने निर्णयका साथ एकजूट भएका छौँ । यस सिलसिलामा यही जेठ २६ गते १ बजे काठमाडौँको टुँडिखेल शहीद मञ्चमा हुने संयुक्त आमसभामा सहभागी भई राजनीतिक दलहरूको संयुक्त उद्देश्यलाई सफल बनाउन सहयोग गरिदिनु हुन महिला, मधेशी, आदिवासी, जनजाति, दलित, मजदूर, किसान, उद्योगी, ब्यवसायी, प्राध्यापक, शिक्षक, वकिल, पत्रकार, चिकित्सक, समाजसेवी, इन्जिनियर, साहित्यकार, कलाकार, मानवअधिकारवादी, महिला अधिकारवादी तथा नागरिक समाजका अगुवा आदि समाजका विभिन्न क्षेत्रामा कार्यरत सम्पूर्ण दिदीबैनी दाजुभाईहरूलाई हामी हार्दिक आमन्त्रण तथा अनुरोध गर्दछौँ ।

मिति ः २०६९÷२÷२५    
 

Share on Facebook

Attachments#
Jesth, All Party Press Conference.doc (32 KB)  वर्ड फरमेटका लागि डाउनलोड गर्नुहोस्  Download