Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
May 24, 2012
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको निर्णय


जेठ ११, २०६९
प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक सभापति सुशील कोइरालाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी.नगर, ललितपुरमा बस्यो । हिजोदेखि जारी रहेको आजको बैठकमा— उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु— डा. रामशरण महत, खुमबहादुर खड्का, बलबहादुर के.सी., महेश आचार्य, नरहरि आचार्य, दीपकुमार उपाध्याय, डा. मिनेन्द्र रिजाल, पदमनारायण चौधरी, उमाकान्त चौधरी, आमोदप्रसाद उपाध्याय, रामकुमार चौधरी, कृष्णचन्द्र नेपाली, दीपक गिरी, नविन्द्रराज जोशी, कमला पन्त, पुष्पा भुसाल, शंकर भण्डारी, गगनकुमार थापा र रामचन्द्र तिवारीले आ–आफ्नो धारणा राख्नु भएको थियो ।

बैठकको निर्णय देहाय बमोजिम छ—
१. विधिको शासन, स्वतन्त्र न्यायपालिका र लोकतन्त्र नेपाली कांग्रेस पार्टीको जन्मकालदेखि कै आधारभूत मान्यता रहिआएका छन् । २०६९ जेठ १४ गते संविधान निर्माण गरिसक्ने अन्तरिम संविधानको प्रावधान र यसबारे सर्वोच्च अदालतको २०६८ मंसिर ९ गतेको निर्देशनात्मक फैसलालाई गम्भीर रुपले ध्यानमा राख्दै नेपाली कांग्रेसले संविधानसभाको म्याद बढाउन मिल्दैन भन्ने धारणा निरन्तर राख्दै आएको हो । यसै बीच नेपाल सरकारले संविधानको प्रावधान, सर्वोच्चको उक्त फैसला र नेपाली जनताको आम चाहनाको सम्पूर्ण उपेक्षा गर्दै संविधानसभाको म्याद बढाउने सम्बन्धी विधेयकको प्रकृया अगाडि बढाएको निर्णयप्रति नेपाली कांग्रेसको गम्भीर आपति र असहमतिलाई पार्टीका तर्फबाट पार्टीको सभापतिज्यूले तत्काल प्रेस मार्फत् सार्वजनिक गरिसक्नु भएको हो । सरकारको उक्त असंवैधानिक र जनभावना विरोधी निर्णयप्रति नेपाली कांग्रेसको हिजो बसेको बैठकले गम्भीर आपति र असहमति जनाएको हो । सम्मानित सर्वोच्च अदालतबाट आज मिति २०६९ जेठ ११ मा जारी भएको फैसलाबाट नेपाली कांग्रेसको यो निर्णयको संवैधानिक औचित्य समेतको पुष्टि भएको हाम्रो ठहर छ । सरकारको उक्त कदमप्रति असहमति जनाउँदै, नेपाली कांग्रेसको तर्फबाट सरकारमा सहभागी हुनु भएका पार्टीका महामन्त्री कृष्णप्रसाद सिटौलाले उपप्रधानमन्त्री पदबाट र नेपाली कांग्रेसका केन्द्रीय सदस्य सूर्यमान गुरुङले मन्त्री पदबाट पार्टी सभापति मार्फत प्रधानमन्त्री समक्ष पठाउनु भएको राजीनामालाई स्वीकृतिका लागि प्रधानमन्त्री समक्ष पठाउने निर्णय गर्दछ ।
२. सम्मानित सर्वोच्च अदालतको फैसलाबाट उत्पन्न भएको अहिलेको परिस्थितिको गाम्भिर्यतालाई आत्मसात राख्दै २०६९ जेठ १४ भित्रै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्ने ऐतिहासिक दायित्वलाई पूरा गर्न, नेपाली कांग्रेस संविधानसभामा भएका सबै राजनीतिक दलहरुलाई आह्वान गर्दछ । पार्टीहरुका बीच विभिन्न चरणमा भएका सहमति र समझदारीहरुप्रति पूर्ण प्रतिवद्ध र इमान्दार हुँदै अहोरात्र क्रियाशील भएमा निर्धारित समयभित्रै संविधान लेखन कार्य सम्पन्न गर्न सकिन्छ भन्नेमा नेपाली कांग्रेस पूर्ण विश्वस्त छ । बाँकी रहेका यी महत्वपूर्ण तीन दिनमा संविधान निर्माणको बाँकी काम सम्पन्न गर्न पार्टीहरुका बीच सहकार्य गर्न अग्रसरता लिने निर्णय गर्दछ ।
३. संविधान निर्माणको स्वाभाविक बाटो छोडेर मन्त्रीपरिषद्ले गरेको म्याद थपको निर्णय गम्भीर संवैधानिक त्रुटि थियो भन्ने सर्वोच्च अदालतको आजको फैसलाले पुष्टी गरिसकेकोले प्रधानमन्त्री वावुराम भट्टराईले पदमा रहिरहने नैतिक र संवैधानिक अधिकार गुमाउनु भएको नेपाली कांग्रेसको ठहर छ ।
४. सबै जाती, भाषा, धर्म, क्षेत्र, लिङ्ग, समुदाय र संस्कृतिका नेपाली दाजुभाई–दिदीबहिनीहरुलाई सहिष्णुता, जातीय सद्भाव र सामाजिक एकता कायम राख्न अनुरोध गर्दै, सबैको पहिचान, प्रतिनिधित्व, पहुँच, स्वाभिमान, समान अधिकार, समावेशिता र समृद्धिलाई सुनिश्चित गर्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण गर्ने ऐतिहासिक कामलाई २०६९ जेठ १४ गतेभित्रै सम्पन्न गर्न सबैमा सहयोगको अपिल गर्दछ ।

वसन्तकुमार गौतम
मुख्य सचिव
 

Share on Facebook

Attachments#
2069.02.11.doc (27 KB)  वर्ड फाइल डाउनलोड गर्नुस्  Download