Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
May 01, 2012
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र संविधानसभा संसदीय दलको संयुक्त बैठकको निर्णय

वैशाख १९, २०६९
प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र संविधानसभा संसदीय दलको संयुक्त बैठक सभापति सुशील कोइरालाको अध्यक्षतामा संविधानसभा भवन, नयाँ वानेश्वरमा आज बस्यो । आजको बैठकमा— उपसभापति एवं संविधानसभा संसदीय दलका नेता रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु— डा. रामशरण महत, नरहरि आचार्य, बालकृष्ण खाँण, दीपकुमार उपाध्याय, रमेश रिजाल, डा. प्रकाशशरण महत, उमाकान्त चौधरी, कृष्णचन्द्र नेपाली, चन्द्र भण्डारी, कमला पन्त, अजयकुमार चौरसिया, सुरेन्द्रराज पाण्डे, गगनकुमार थापा, संविधानसभाका सदस्यहरु— रामकृष्ण यादव, मोहन पाण्डे, रमा गुरागाई र उषा गुरुङले आ–आफ्नो धारणा राख्नु भएको थियो । बैठकमा जनकपुरको रामानन्द चोकमा हिजो विहान भएको बम विष्फोटमा परि मृत्यु भएकाहरुप्रति एक मिनेट मौन धारण गरिएको थियो । आजको बैठकले देहायको निर्णय गरेको छ ।

१. २०६९ जेठ १४ गतेको समयसिमाभित्र संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गर्नु पर्दछ भन्नेमा नेपाली कांग्रेस दृढ संकल्पित छ । समयसिमाभित्र संविधान जारी गर्न नेपाली कांग्रेस आफ्नो तर्फबाट सम्पूर्ण प्रयत्न गर्ने यो संयुक्त बैठक निर्णय गर्दछ ।

२. तोकिएको अवधिमा संविधान निर्माण कार्यलाई सुनिश्चित गराउन जेठ १४ गते अगावै नेपाली कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार ल्याउने उपाय अवलम्वन गर्न पार्टी नेतृत्वलाई निर्णय गर्ने अधिकार दिने निर्णय गर्दछ ।

३. जनकपुरको रामानन्द चोकमा शान्तिपूर्ण धर्नामा बसिरहेकाहरुप्रति लक्षित गर्दै आपराधिक समूहबाट हिजो भएको बम विष्फोटमा परी ४ जनाको मृत्यु भएको र दुई दर्जन भन्दा बढी व्यक्ति घाइते भएको घटनालाई यो बैठकले गम्भीर रुपमा लिएको छ । अशान्ति र अस्थिरतातर्फ धकेल्न खोज्ने लोकतन्त्र र मानवता विरोधी तत्वहरुको षडयन्त्रको रुपमा भएको कायरतापूर्ण र मानवता विरोधी यस घटनाको यो बैठक घोर निन्दा र भत्र्सना गर्दै यस्ता आपराधिक कृयाकलापमा संलग्न दोषीहरु पत्ता लगाई तिनीहरुलाई कडा भन्दा कडा कार्वाही गर्न, मृतकलाई शहीद घोषणा गर्न, उनीहरुका परिवारलाई उचित क्षतिपूर्ति दिन, आम नागरिकमा शान्ति सुरक्षाको प्रत्याभूत गर्न र घाइतेहरुको सम्पूर्ण उपचारको प्रबन्ध गर्न सरकारसँग मांग गर्दछ । साथै मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरुका शोक सन्तप्त परिवारप्रति यो बैठक हार्दिक समवेदना प्रकट गर्दछ र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

वसन्तकुमार गौतम
मुख्य सचिव
 

Share on Facebook

Attachments#
No files