Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Apr 30, 2012
सभापति कोइरालाद्वारा मे दिवसको अवसरमा शुभकामना व्यक्त

वैशाख १८, २०६९
शुभ–कामना
मे १ तारिख – मजदुर वर्गले लामो संघर्षपछि आफ्नो अधिकार प्राप्त गरेको एक ऐतिहासिक दिन हो । काम गर्ने समयको अवधि र पारिश्रमिक निर्धारण, उपचार र वसोवासको उचित व्यवस्था आदि मजदुर वर्गको हितका मागहरु राखेर सन् १८८६ मा अमेरिकाको सिकागोवाट मजदुरहरुले आन्दोलन प्रारम्भ गरे । त्यसमा अनेकौं मजदुरहरुलाई अत्यन्त वर्वर तवरले हत्या गरियो । तर आन्दोलन रोकिएन । लामो संघर्षपछि मे १ का दिन मजदुरहरुले आफ्नो अधिकार प्राप्त गरे । त्यही ऐतिहासिक दिनको स्मरणमा, हरेक वर्ष मे १ लाई संसारभरिका मजदुरहरुले मजदुर दिवसको रुपमा मनाउँदै आएका छन् ।
सम्वत् २००३ को फाल्गुण २१ देखि नेपाली काँग्रेसका सभापति एवं लोकतान्त्रिक नेपालका महानायक स्व. गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा मजदुरहरुले आफ्ना जायज मागहरु राखेर विराटनगरमा आन्दोलन प्रारम्भ गरे । नेपालमा भएको यो पहिलो ऐतिहासिक आन्दोलन थियो । सरकारले त्यो लामो आन्दोलनलाई निर्ममतापूर्वक दवाउने नीति अख्तियार गरेर— जननायक बी.पी. कोइराला, तारिणीप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला, गेहेन्द्रहरि शर्मा, युवराज अधिकारी र मनमोहन अधिकारी, दिव्या कोइराला, नलिनी उपाध्याय, इन्दिरा आचार्य र कामिनी गिरी समेत अनेकौंलाई पक्राउ ग¥यो । क्रूर तवरले गोली हानेर मजदूर नेता तुलारामको हत्या गरियो ।
नेपालमा प्रजातन्त्रको स्थापना अथवा २००७ को ऐतिहासिक जनक्रान्तिको प्रस्थान विन्दु यही मजदुर आन्दोलन थियो । त्यसैले नेपाली काँग्रेस र मजदूरहरु सधैं एक अर्कामा आवद्ध भएर एक अर्काका अनन्य सहयोगी भएर रहिआएको कुरा सर्वविदितै छ ।
२०१६ मा नेपाली काँग्रेसको जन–निर्वाचित सरकारले नै कारखाना र मजदूर सम्बन्धी कानूनको तर्जुमा गरेर, मजदूरहरुलाई कानूनसम्मत् अधिकार प्रदान गरेको हो । आज पनि नेपालका मजदूर दाजुभाइ तथा दिदी बहिनीहरुले अनेक समस्याहरुलाई बेहोरिरहन परेको छ । कसरी मजदूरको समस्यालाई समाधान गरेर मजदूर वर्गको हक र हितको सम्वद्र्धन गर्न सकिन्छ, त्यसप्रति नेपाली काँग्रेस सदैव सचेत भएर लागिरहनेछ ।
एक युगान्तकारी परिवर्तनसँगै हाम्रो देशमा लोकतान्त्रिक गणतन्त्रात्मक पद्धति स्थापना भएको छ । शान्ति प्रकृयालाई अविलम्व निष्कर्षमा पु¥याई दिगो शान्ति वहाली गर्ने र संविधानसभाबाट तोकिएकै मितिमा लोकतान्त्रिक संविधान निर्माण गरी मुलुकमा राजनीतिक स्थायित्व प्राप्त गर्न सबै राजनीतिक दलहरु संवेदनशील हुन तथा  आपसी एकता, मेलमिलाप एवं पारस्परिक सद्भाव, सहयोग र सहकार्यलाई अघि बढाएर यस जिम्मेवारीलाई पूरा गर्न म आग्रह गर्दछु ।
१२३ औं मे दिवसका अवसरमा म सम्पूर्ण मजदूर दाजु–भाइ तथा दिदी–बहिनीहरुमा हार्दिक
शुभ–कामना व्यक्त गर्दछु ।
जय नेपाल !

सुशील कोइराला
सभापति
नोट ः २०६९ वैशाख १९ गते मे दिवसका दिन प्रकाशन तथा प्रसारणका लागि ।
 

Share on Facebook

Attachments#
No files