Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Apr 22, 2012
सभापति श्री सुशील कोइरालाज्यूद्वारा लोकतन्त्र दिवसको सन्देश व्यक्त


वैशाख १०, २०६९
लोकतन्त्र दिवसको सन्देश

 वैशाख ११ गते नेपाली जन–संघर्षको इतिहासको एक अवस्मरणीय दिन हो । नेपाली जनताको गौरवमय उत्सर्ग, अतुलनीय साहस एवं दृढ संकल्पले निरंकुश राजतन्त्र समाप्त भई लोकतन्त्र स्थापना २०६३ सालमा यसै दिन भएको हो ।
देशलाई जनप्रतिनिधिविहिन अवस्थामा पु¥याएर २०५९ असोज १८ मा भएको शाही घोषणा र त्यसपछिका राजाका कदमहरुले नेपाली जनताको अधिकार, मानव अधिकार र स्वतन्त्रतामाथि गम्भीर प्रहार ग¥यो । उक्त प्रतिगामी कदमबाट संसदीय शासन प्रणाली र बहुदलीय प्रजातन्त्रका मूल्य, मान्यता र संवैधानिक व्यवस्था अवरुद्ध भए । देशको शासनभार राजा स्वयंले नै ग्रहण गरी आफू सक्रिय राजतन्त्रतर्फ उन्मुख भएको घोषणा गरे । यो राष्ट्रका लागि नै दुःखद अवस्था थियो । यस स्थितिमा राजनीतिक दल र जनता मूकदर्शक भएर प्रजातन्त्र समाप्तिको श्रृखंलालाई हेरेर मात्र बस्ने स्थिति थिएन । यसैले जनताको हातबाट खोसिएको अधिकारलाई पुनस्र्थापित गरेर राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक समग्र क्षेत्रमा देशलाई अग्रगामी दिशा प्रदान गर्दै जनताको सम्प्रभुता पूर्ण रुपले स्थापित गराउन शान्तिपूर्ण जन–आन्दोलनमा नेपाली कांग्रेस लगायत अन्य राजनीतिक दलहरु र जनता एकजुट हुन आवश्यक थियो । त्यसैले निरंकुश राजतन्त्रको अन्त्य र पूर्ण लोकतन्त्र वहालीका लागि नेपाली कांग्रेस लगायत सात राजनीतिक दलहरुले ऐतिहासिक जनआन्दोलन संचालन गरे । हिंसात्मक द्वन्दमा सक्रिय भएको नेकपा
(माओवादी) पनि १२ वुँदे समझदारी पश्चात् शान्तिपूर्ण रुपमा यस आन्दोलनमा सहभागी हुन पुगे । विभिन्न पेशा र व्यवसायमा संलग्न व्यक्तिहरुबाट पनि यस जनआन्दोलनलाई थप बल प्राप्त भयो । यो आन्दोलन कुनै व्यक्ति वा पार्टी विशेषको आन्दोलन नभएर सम्पूर्ण जनताको आन्दोलन थियो । नेपाली जनताको अपार जनलहरको अगाडि निरंकुश राजा झुक्न वाध्य भए र २०६३ वैशाख ११ गते प्रतिनिधिसभाको पुनस्र्थापना भएको घोषणा गरे । देशभरि फैलिएको नेपाली जनताको यो आन्दोलन आफ्नो गन्तव्यमा पुग्यो ।
लोकतन्त्र— प्रत्येक व्यक्तिको सरोकारको, उनीहरुको अधिकारको, उत्थान, सुरक्षा र समानताको प्रत्याभूति हो । देशमा लोकतन्त्र स्थापनाको संघर्षमा हाम्रा अनेकौँ सपुतहरुले लोकतन्त्रको वेदीमा आफूलाई उत्सर्ग गरेका छन् । यो ऐतिहासिक दिनमा ती सम्पूर्ण बीर शहीदहरुको— देश, जनता र लोकतन्त्रप्रतिको समर्पण, साहस र वलिदानको म स्मरण गर्दछु र उहाँहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । राष्ट्र अहिले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान निर्माण गर्ने अन्तिम चरणमा छ र समयावधि अत्यन्त छोटो रहेको छ । सबैको भावना, चाहना र आकांक्षालाई संविधानमा समेट्दै देशलाई शान्त, समृद्ध र समुन्नत राष्ट्रका रुपमा विकसित गर्न लोकतान्त्रिक अधिकार, मानव अधिकार, प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिकाको रक्षा गर्न र शान्ति सुरक्षाको प्रत्याभूतिका निमित्त नेपाली कांग्रेस आफ्नो संकल्पमा दृढ छ । जनआन्दोलनकै भावना र मर्म अनुरुप संविधान निर्माण गर्ने र शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन सबै क्षेत्र, वर्ग, पेशा–व्यवसाय र समुदायको महत्वपूर्ण सहयोग र योगदान आवश्यक रहेको छ । त्यस्तै जनताको लोकतान्त्रिक अधिकारको रक्षाका लागि देशका राजनीतिक दलहरुबीच सहमति, सहकार्य र सहयोग अपरिहार्य छ । सहमति र सहकार्य तोडेर शान्ति प्रक्रिया निष्कर्षमा पुग्न सक्दैन । त्यसैले यसप्रति संवेदनशील हुन म सम्पूर्ण राजनीतिक दल, नागरिक समाज लगायत सबैमा अनुरोध गर्दछु । साथै, देशलाई लोकतन्त्रको उज्यालोमा प्रवेश गराउने हाम्रा बीर शहीदहरू, देशभक्त नेताहरू एवं नेपाली जनताको लक्ष्य र सपनालाई सधैं अगाडि राखेर यो ऐतिहासिक दिनमा अझ बढी सचेत र संवेदनशील भई देशमा दिगो शान्ति कायम गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको लोकतान्त्रिक संविधान निर्माणमा सबै एकजुट हुन आग्रह गर्दछु ।
जय नेपाल !

सुशील कोइराला
सभापति     
 

Share on Facebook

Attachments#
No files