असार ६, २०६९
प्रेस विज्ञप्ति
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक सभापति सुशील कोइरालाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी.नगर, ललितपुरमा बस्यो । आजको बैठकमा केन्द्रीय सदस्यहरु— विमलेन्द्र निधि, नरहरि आचार्य, दीपकुमार उपाध्याय, रमेश रिजाल, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडू, जीवनबहादुर शाही, अजयकुमार चौरसिया, महेन्द्र यादव, शंकर भण्डारी, मीन विश्वकर्मा, गगनकुमार थापा, ईश्वरी न्यौपाने, राजनप्रसाद पन्त, केशवकुमार बुढाथोकी र मीना सुब्बाले आ–आफ्नो धारणा राख्नु भएको थियो ।
बैठकको निर्णय देहाय बमोजिम छ—
(१) नेपाली कांग्रेसको विधान, २०१७ (२०५१, २०५४, २०५७, २०६२, २०६४ र २०६६ मा संशोधन र परिमार्जन गरी मिलाइएको रुपमा) को धारा ४३ बमोजिम नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवन विघटन गरिएको छ ।
(२) प्रतिशोधपूर्ण तवरले नेपाली कांग्रेस मोरङ निर्वाचन क्षेत्र नं. ९ का क्षेत्रीय सभापति खड्गबहादुर फागो माथि सरकारी संरक्षणमा पटक–पटक आक्रमणको प्रयास गर्ने, विना कुनै आधार हिरासतमा राख्ने कार्यको यो बैठक भत्र्सना गर्दछ । क्षेत्रीय सभापति फागोलाई तत्काल रिहा गरी निजको सुरक्षाको प्रत्याभूत गर्न माग
गर्दछ ।
केन्द्रीय कार्यसमितिको बैठक २०६९ असार ७ गते दिनको ३ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।
वसन्तकुमार गौतम
मुख्य सचिव